Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामुदायिकमा विद्यार्थी घटेका छैनन् भन्ने उदाहरण बन्दै बुटवलका विद्यालय 

बुधबार, चैत १, २०७९

काठमाडौँ– कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अभाव र शिक्षाको गुणस्तरमा प्रश्न उठ्छ । निजी विद्यालयहरूसँगको प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालयहरूलाई प्रश्न उठ्नु स्वभाविक पनि हो । तर सबै सामुदायिक विद्यालय भने सोचेजस्तो कमजोर छैनन् । बरु निजी विद्यालयहरूभन्दा अब्बल र तीसँग प्रतिस्पर्धाका लागि निम्तो दिने पनि छन् । 

त्यसैमध्येको एक हो रुपन्देहीको बुटवलस्थित कान्ति माध्यमिक विद्यालय । वुटवलका केही सामुदायिक विद्यालयले निजी शिक्षण संस्थाहरूको दबाबलाई तोड्दै मुलुककै अब्बल विद्यालयको रूपमा आफूलाई स्थापित गरेका छन् । 

बुटवल कालिका माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयले निजी शिक्षण संस्थाहरूको भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको स्थानीयहरू बताउँछन् । त्यसैले पनि सो क्षेत्रका विद्यार्थीहरूको रोजाइमा कान्ति माध्यमिक विद्यालय पर्ने गरेको छ । 

विद्यालयमा विद्यार्थीहरूको चाप बढेसँगै विद्यालयका भौतिक संरचनाहरू व्यवस्थित बनाउने काम भइरहेको विद्यालय स्रोत बताउँछ । कान्ति माध्यमिक विद्यालयमा अहिले ५ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरूका अभिभावकको चाहनाअनुसार कक्षा १० र १२ मा पढ्ने केही विद्यार्थीका लागि होस्टेल सुरुवात गरेकोसमेत बताए ।

उनले विद्यालयको भौतिक संरचना पूरा हुने चरणमा रहेको उल्लेख गरे । उनले विद्यालयमा रहेका संरचनालाई पूर्णरूपमा प्रयोगमा ल्याएको पनि बताए । 

नमूना विद्यालय छनोट कार्यक्रममा कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयसमेत बनिसकेको छ ।   
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्