नेभिगेशन
समाचार

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मत दिने

काठमाडौं –नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय सभाका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न निर्देशन गर्ने,’– कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयमा भनिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादवलाई मत दिने निर्णय भएका् जानकारी दिए ।

यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह गरेको प्रवक्तता महतले बताए ।

यस्तै, बैठकले राष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिंदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामनासमेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार