Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सरकारहरुबीच समन्वय नहुँदा एकल र साझा अधिकार दोहोरिए’

बुधबार, चैत १, २०७९

काठमाडौँ– संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय हुन नसक्दा एकल र साझा अधिकारका विषयहरु दोहोरिएको गुनासो विज्ञहरुले गरेका छन् । 

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध तथा समन्वय) प्रगति, चुनौति र सम्भावनाको अध्ययन प्रतिवेदनबारे जानकारी गराउँदै विज्ञहरुले यस्तो धारणा राखेका हुन् । 

उनीहरुले समन्वयका अभावमा एकल अधिकार अन्तर्गत दोहोरिएका विषय तथा साझा अधिकारका विषयमा कानून बन्न द्विविधा रहेका कारण शिक्षा, स्वास्थ्य, सहकारी, निजामती, प्रहरी लोकसेवा आयोगलगायतका कानूनहरु बन्न नसकेको बताए । उनीहरुले कानून निर्माण हुन नसक्दा विकास निर्माणका कामले गति लिन नसकेको जिकिर गरे । 

विज्ञहरुले अध्ययनका क्रममा नदीबाट प्राप्त श्रोतको उपयोगमा विवाद आउने गरेको, सामुदायिक वन र नदीजन्य वस्तुको दुरुपयोग सम्बन्धमा स्थानीय तहको कारबाही प्रक्रियामा संघले हस्तक्षेप गरेको मन्त्रालयहरुले स्थानीय तहसँग साझेदारी गर्न नखोजेको, श्रोत, साधनको बाँडफाँटमा समेत समन्वय हुन नसकेको, सशर्त अनुदान ढिला आउने, समपुरक अनुदानमा स्थानीय तहको लगानीका आधारमा प्राप्त हुन नसकेको र संघ, प्रदेश र स्थानीय तहको बजेटको मात्रामा आधार समेत स्पष्ट हुन नसकेको आरोप लगाए । 

अध्ययन प्रतिवेदनबारे जानकारी गराउँदै समितिमा अधिवक्ता मोहनलाल आचार्यले संघीयताबारे अध्ययनका क्रममा राष्ट्रिय समन्वय परिषद्को हालसम्म बैठक नबसेको र ५ वटा विषयगत समितिको एकएक पटक मात्रै बैठक बसेको बताए । जसका कारण आवश्यक समन्वय हुन नसकेको उनको दाबी थियो । 

साझा अधिकारका विषयमा तीन वटै तहबाट पर्याप्त कानून बन्न नसक्दा प्रदेश र स्थानीय तहले अभ्यासमा उल्लेख्य उपलब्धि हात पार्न नसकेको अभिवक्ता आचार्यले बताए । ६ वटा प्रदेश सभाहरुले स्थानीय तहको सेवा सुविधाका सम्बन्धमा बनाएका कानूनहरु अदालतबाट खारेज भएको अवस्था रहेकाले त्यसमा पनि संघ सरकारले चासो देखाउन आवश्यक रहेको उनको भनाइ छ ।

समन्वयका अभावमा एकल अधिकार अन्तर्गत दोहोरिएका विषय तथा साझा अधिकारका विषयमा कानून बनाउन दिव्विधा रहेका कारण शिक्षा, स्वास्थ्य, सहकारी निजामति, प्रहरी, लोकसेवा आयोग लगायतका कानूनहरु बन्न नसकेको विकास निर्माण, योजना तर्जुमामा समन्वय हुन नसकेको आचार्यले बताए ।

अधिवक्ता आचार्यका अनुसार तीन तहकै सरकारले संविधान र ऐनले व्यवस्था गरेको सबै संरचनाहरुको गठन र प्रभावकारीतामा ध्यान दिनुपर्ने, कानून निर्माणमा एकरुपता कायम गर्न सबै तहको लागि साझा दिग्दर्शनको आवश्यक्ता रहेको छ । अध्ययनका क्रममा विज्ञहरुले साmभा अधिकार र अवशिष्ट अधिकारका विषयमा संघबाट तत्काल कानून बनाउनुपर्ने, कानून, निर्माण योजना तर्जुमा र कार्यान्वयनमा समन्वय र परामर्श गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । 

त्यस्तै धारा २३५ (३) बमोजिमको कानून जारी हुनुपर्ने, कानूनहरुको पुनरावलोकन गर्नुपर्ने, आयोजनाको स्तर र थ्रेसहोल्डसहित सार्वजनिक खरिद ऐनको सबलीकरण, कर्मचारी व्यवस्थापन प्रदेश लोकसेवा आयोग र प्रदेश कानून बमोजिम गर्नु उपयुक्त हुने, स्थानीय तहमा कर्मचारीहरुको विभेदको अन्त्य गर्नुपर्ने, एकरुपता कायम गर्नुपर्ने, अनुदानको वितरण र व्यवस्थापन प्रणालीमा रहेका समस्याको निदान हुनुपर्ने, ढुंगा, गिटी, बालुवाका सम्बन्धमा संघ र प्रद्येशको मापदण्डमा एकरुपता कायम गर्नुपर्ने र जिल्ला समन्वय समितिको भुमिका र प्रभावकारिताका बारेमा थप स्पष्टता हुनुपर्ने सुझाव दिएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्