राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने [निर्णयसहित]
काठमाडौं –राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।
चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन् ।
राप्रपाले राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो । साथै राप्रपाले मलमा सरकारले अनुदान रकम घटाएकोमा विरोध गरेको छ ।
‘रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक साताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूले उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रूपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपाले सरकारसँग माग गरेको छ ।