Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने होन्डुरसको घोषणा, चीनको स्वागत

बिहीबार, चैत २, २०७९

तेगुसिगल्पा– होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै  ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ । 

राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका छन् । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा गत साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति  वार्ता गरिरहेको घोषणा गरेका थिए । 

होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि, बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्तका आधारमा चीन होन्डुरस र विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका छन् । 

ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने १४ देशमध्ये होन्डुरस एक हो । स्वशासित टापु ताइवानलाई चीनले आवश्यक भएमा बल प्रयोग गरेर आफ्नो मुख्यभूमिमा विलय गराउनसक्ने बताउँदै आएको छ ।  चीनको एक राज्य दुई नीतिअन्तर्गत ताइवानमा शासन सञ्चालन भइरहेको छ । 

यसैबीच, बेइजिङले बुधबार होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । प्रवक्ता बाङले ‘हामी होन्डुरसको सान्दर्भिक वक्तव्यको स्वागत गर्दछौँ,’ नियमित पत्रकार सम्मेलनमा भनेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०५:४७
प्रतिक्रिया दिनुहोस्