Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाममा भोलिदेखि कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै

बिहीबार, चैत २, २०७९

इलाम–सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ ।

७ चैतसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए । उनका अनुसार १२ वर्षमाथिका सबैलाई खोप दिइनेछ । गर्भवती, दीर्घ रोगीलगायतले समेत खोप लगाउन मिल्ने शाक्यको भनाइ छ ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोज लगाइनेछ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो । पहिलो मात्रा लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने छ । पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका र अग्रपङ्तिमा खटिने सबैलाई खोप दिइने शाक्यले बताए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार ४९२ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिएका छन् । १२ वर्षमाथिका ६३ हजार ४९३ नागरिकलाई पहिलो बुस्टर डोज लगाउने लक्ष्य छ ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ । दोस्रो खोप लगाएको ३ महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर खोप दिइने छ । इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी २२५ स्थानबाट खोपको व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले खोप लगाउन सबैैलाई आह्वान गरिएको छ । इलाममा खोपको पहिलो मात्रा लगाउने सङ्ख्या एक लाख ९९ हजार ३८८ जना रहेको छ । खोपको दोस्रो मात्रा लगाउनेको सङ्ख् १ लाख ८४ हजार ८१४ जना छ । पहिलो बुस्टर डोज लगाउनेको सङ्ख्या १ लाख २१ हजार ३२१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार