Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाको विधान मस्यौदा तयार

बिहीबार, चैत २, २०७९

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ । गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । 

अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए ।

‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण गरी यही चैत १५ गतेसम्म आवश्यक सुझाव पठाउनका लागि हामीले निर्देशन दिएका छौँ’, उनले भने । 

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, सङ्घीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय संगठनका सदस्यलाई समेत आवश्यक सुझावका लागि पठाएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए । 

जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन, अन्तरक्रिया र छलफल गर्न सातवटै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गर्नसमेत निर्देशन दिएको बताइएको छ । विधान मस्यौदासम्बन्धी सुझाव संकलन गर्न आयोजना गरिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मस्यौदा समितिका तर्फबाट सहभागी हुन नेताहरूको जिम्मेवारीसमेत तोकिएको छ । 

कोशी प्रदेशका लागि कार्यकारिणी सदस्य रकम चेम्जोङ, मधेस प्रदेशका लागि कार्यकारिणी सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशका लागि राजनीतिक समितिका सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशका लागि कार्यकारिणी सदस्य शिवलाल थापा छन् ।

यसैगरी बागमती प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपक राई, सुदूरपश्चिम प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपेन्द्र झा र जनवर्गीय, बौद्धिक पेसाकर्मी, विज्ञलगायतसँग छलफल गर्न कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार