उपराष्ट्रपतिबारे निर्णय गर्न बोलाइएको रास्वपाको बैठक स्थगित
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति पदको निर्वाचनको बारेमा निर्णय गर्न आजका लागि बोलाएको बैठक स्थगित गरेको छ ।
रास्वपाले आज बिहान साढे ११ बजे पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको थियो । सो बैठक स्थगित भएको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।
निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको उनको भनाइ छ ।
आजै उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय गर्ने जनाइएको थियो । अब बैठक स्थगित भएपछि रास्वपामा अन्योल सिर्जना भएको छ ।
गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।
आज नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिलाकुमारी यादव उम्मेदवार छन् ।