पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘पानी दर्केर’मा वर्षा र प्रकाशको अभिनय
काठमाडौँ– नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले 'पानी दर्केर' भन्ने नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । चैत ३ गतेदेखि शिवाकोटीको युटुव च्यानलमार्फत सो भिडियो सार्वजनिक भएको हो ।
पूर्वडेपुटी गभर्नर शिवाकोटीको म्युजिक भिडियोमा रोजगारीका लागि विदेशिएका युवा र उनको घरपरिवारको पीडा समेटिएको छ । नेपालको ग्रामीण समाजको वास्तविक घटनालाई लिएर चित्रण गरिएको उनको म्युजिक भिडियोमा साहुको ऋण तिर्नका लागि विदेशिएका श्रीमान्, उनको परिवारलाई साहुले छिटो ऋण तिर भनेर दिएको दबाब तथा उनीहरूमाथि गरेको नराम्रो व्यवहार, ऋण तिर्नको लागि विदेशमा बस्न बाध्य भएको श्रीमान्को पीडा समेटिएको छ ।
यो म्युजिक भिडियोमा नेपालीको वास्तविक पीडा समेटिएको शिवाकोटीले बताए ।
‘यो म्युजिक भिडियोमा देशमा रोजगारी नहुँदा विदेशिनु परेको बाध्यता, साहुले घरपरिवारलाई गरेको नराम्रो व्यवहार समेटिएको छ, साहुको नराम्रो व्यवहार सहन नसकेर छिटो घर फर्कन श्रीमतीले श्रीमान्लाई पोखेको पीडा र ऋण तिर्न सक्ने भएपछि घर फर्कने श्रीमानले गरेको प्रतिवद्धता म्युजिक भिडियोमा देख्न र सुन्न पाइन्छ,’ पूर्वडेपुटी गभर्नर शिवाकोटीले भने ।
उक्त म्युजिक भिडियोमा प्रवीन बेडवाल र रचना रिमालको स्वर रहेको छ । वरिष्ठ संगितकार हरि लम्सालको संगीत रहेको उक्त म्युजिक भिडियोमा वर्षा शिवाकोटी र प्रकाश सपुतले अभिनय गरेका छन् । सुनिल बिकको निर्देशनमा तयार भएको यो म्युजिक भिडियो रेकडिङ अकोस्टिक स्टुडियोमा भएको हो ।
शिवाकोटीको १३ औं संस्करणको रूपमा उक्त म्युजिक भिडियो आएको हो । यसअघि शिवाकोटीले मोरङ जिल्लाको ऐतिहासिक दोहमना बजारको सेरोफेरोलाई लिएर उक्त म्युजिक भिडियोका लागि गीत रचना गरेका थिए ।
शिवाकोटीले उक्त स्थानमा उनले आफ्नो बाल्यकाल बिताएका थिए । उनले आफूले बाल्यकाल बिताएको ठाउँलाई विश्वभरि चिनाउन शब्द सञ्जाललाई गीतको मालामा उनेका थिए ।
राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यसअघि बैंक खाता, समृद्धिका गीतहरू, हिमालबाट हिउँ पग्ली, काली, हाँगाबाट, आएर बस, समृद्ध नेपाल सुखी नेपाली, जिउँदै छु, आएन खबर, जुनी जुनीजस्ता म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
हेरौँ भिडियो :