Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ वर्षदेखि बन्द वायोग्यास प्लान्ट मर्मत गर्दै कामपा

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ । 

५ वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अब एक हप्ता लाग्छ । मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मर्मतको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भएर काम भइरहेको छ । प्लान्टको केही भित्रि इन्जिन फेर्न पर्ने भएकाले अहिले उक्त कार्य भइरहेको छ ।   

फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । 

प्लान्ट सञ्चालनको मुख्य लक्ष्य कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका गर्नु हो । उक्त परियोजनामा युरोपियन युनियनले ४ करोड ६० लाख  र कामपाले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ ।

२०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएको भए पनि २०७४ सालदेखि आधिकारिकरूपमा सञ्चालन गरिएको थियो । केही समयमात्र सञ्चालन भएर दक्षजनशक्ति अभावका कारण पुनः बन्द भएको थियो । प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपाले कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

कुहीने फोहर व्यवस्थापनकै लागि विभागले कम्पोष्ट मल उत्पादन कार्य पनि सुरु गरेको छ । एक महिनाअघि टेकुबाट मल उत्पादन सुरु गरेको कामपाले अहिले अन्य एक स्थानबाट पनि उक्त कर्य सुरु गरेको छ । परीक्षणका रुपमा गरिएको उक्त काम सफल भए अन्य स्थानमा पनि विस्तार गर्ने योजना कामपाको छ  ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्