Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई मुलुकको सम्बन्धको ‘नयाँ चरण’ घोषणा गदै पुटिन र सी, युक्रेनबारे पनि छलफल हुने

शनिबार, चैत ४, २०७९

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता सम्बन्धको ‘नयाँ युग’को सुरुवात गर्ने र युक्रेनबारे छलफल हुने क्रेमलिनका एक अधिकारीले शुक्रबार बताएका छन् । 

‘नेताहरूले नयाँ युगमा प्रवेश गरेको र व्यापक साझेदारी र रणनीतिक सम्बन्धलाई मजबुत बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुहुनेछ,’ पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले भने । 

उसाकोभका अनुसार दुई शक्तिशाली नेताले सन् २०३० सम्मका लागि रूसी तथा चिनियाँ आर्थिक सहयोगसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गर्नेछन् ।

उनले थपे, ‘दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा लेखेका लेख तथा विचारहरू सोमबार रूसी र चिनियाँ पत्रिकामा प्रकाशित हुनेछन् । यो वास्तविक वार्ताको पूर्वसन्ध्यामा एक महत्वपूर्ण सङ्केत हुनेछ ।’

उनीहरूले युक्रेनमा रुसको सैन्य अभियानलाई पनि एजेन्डामा समावेश गर्नुभएको उसाकोभले बताए । 

‘पक्कै पनि युक्रेन द्वन्द्वबारे छलफल हुनेछ । हामी यस विषयमा चिनियाँ नेतृत्वको संयमित र सुविचारित अडानको उच्च कदर गर्छौं,’ उसाकोभले भने। 

उनले बेइजिङले ‘यो सङ्कटको वास्तविक कारण बुझेको’ र गत महिना प्रकाशित युक्रेन द्वन्द्वमा चीनको शान्ति पहलको मस्कोले स्वागत गरेको बताए । 

पुटिन र सीबीच सोमबार ‘अनौपचारिक’ भेटवार्ता र रात्रिभोज हुने र त्यसपछि मङ्गलबार औपचारिक वार्ता हुने क्रेमलिनका सल्लाहकार उसाकोभले बताए ।

मस्कोमा पुटिनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्कनेछन् ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्