पत्रकार महासङ्घ तनहुँद्वारा पुरस्कार घोषणा
दमौली– नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो ।
शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले बताए । शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
शाखाले टीकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । स्व भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
चिरणहरि पत्रकारिता पुरस्कार पत्रकार सानेबहादुर नेपालीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।
त्यस्तै भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।
सबै पुरस्कार शाखाको स्थापना दिवसको अवसरमा चैत १६ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । बैठकले तनहुँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।