नेभिगेशन
खेलकुद

रोनाल्डो राष्ट्रिय टोलीमा अटाए, कप्तानी पनि कायमै

काठमाडौँ– सन् २०२४ मा जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताको छनोट खेल्ने पोर्चुगल राष्ट्रिय टोलीमा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अटाएका छन् ।

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई स्थान दिएका हुन् । 

सन् २०२२ को कतार विश्वकपमा खराब प्रदर्शन गरेपछि रोनाल्डो युरोपका क्लबको रोजाइमा परेनन् । उनी यतिबेला साउदी अरेबियाको लिग खेलिरहेका छन् । ३८ वर्षीय रोनाल्डोको प्रदर्शन त्यहाँ पनि सामान्य मात्र छ । यसर्थ, उनको अन्तर्राष्ट्रिय भविश्यमाथि नै प्रश्न उठ्दै आएको थियो ।

तर, स्पेनिस नागरिक रहेका प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई टोलीमा समेट्दै कप्तानी पनि कायमै राखेका छन् । 

पोर्चुगलले यसै महिना युरोकप छनोटमा लिक्टेन्सटाइन र लक्जेम्बर्गसँग खेल्दैछ ।

पोर्चुगलले मार्च २३ मा लिक्टेन्सटाइन र त्यसको तीन दिनपछि लक्जेम्बर्गसँग खेल्ने तालिका छ ।

कतार विश्वकपमा रोनाल्टो नेतृत्वको पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो । उनले भने खेल बेन्चबाट सुरु गरेका थिए ।

रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा कीर्तिमानी ११८ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन् ।

२६ सदस्यीय टोलीमा घाइते भएर विश्वकप गुमाएका लिभरपुलका खेलाडी डिएगो जोटाले पनि स्थान बनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद