जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सचेत छु : राष्ट्रपति पौडेल
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन शनिबार आयोजित समारोहमा उहाँले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले भने, ‘संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।’
‘यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु’, उनले भने ।
निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म तथा भावनालाई अगीङ्कार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने, व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सबै सजग रहन जरुरी छ भन्नेमा आफू दृढ रहेको उनले बताए ।
कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले आमन्त्रण अतिथिको सम्मानमा चियापान समारोह आयोजना गरेक थिए ।