मधेश सरकारले ८६ हजार विद्यार्थीलाई झोला दिँदै
जनकपुरधाम –मधेश सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गर्ने काम सुरु गरेको छ ।
शिक्षा विकास निर्देशनालयमार्फत ८ वटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो ।
मधेश प्रदेशको नामाकरण भएपछि ८ वटै जिल्लामा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण गरिरहेको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।
यसका लागि सरकारले ६ करोड रुपैयाँ खर्च गरेको छ । २८ फागुनबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी ५ वटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।
निर्देशक फुयालका अनुसार सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको ६ करोड बजेटबाट बोलपत्र मार्फत निर्देशनालयले न्यूँ आननन्द डिजाइनर कम्पनीबाट ज्योमेट्रीबक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ रुपैयाँमा खरिद गरेको छ । ज्योमेट्रीबक्ससहित प्रति झोला ५८८ रुपैयाँ खरिद मूल्य परेको छ ।