तिलोत्तमा गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
लुम्बिनी– रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।
उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे । खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २–० अवस्थामा ल्याए ।
खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका थारूले दोस्रो हाफको २३औँ मिनेटमा थप एक गोल गर्दै टीमलाई ३–० को अग्रतामा पुर्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीका लागि विदेशी खेलाडी फोडे फोफोनाले सान्त्वना गोल गरे ।
सुदूरपश्चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए । दुई विभागीयसहित आठ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
म्यान अफ दी म्याचलाई पनि ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।