पत्रकारको न्यूनतम पारिश्रमिक दोब्बर बढाउन माग
काठमाडौँ– नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ ।
महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो ।
‘साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकमलाई दोब्बर बनाउन महासङ्घ काठमाडौँ शाखा यस घोषणपत्रमार्फत सरकारसँग विशेष माग गर्दछ’, घोषणापत्रमा भनिएको छ ।
महासङ्घले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन प्रदान गर्ने भनिए पनि कार्यविधि अभावका कारण हालसम्म कार्यान्वयन हुन नसकेको बताउँदै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन अनुरोध पनि गरेको छ ।
बैठकले सरकारबाट साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई १० लाखबाट बढाएर २५ लाख रुपैयाँ बनाउनुपर्नेमा जोड दिएको छ । सरकारले पत्रकारका लागि लागू गरेको दुर्घटना बीमाको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने र त्यसलाई बीमामा रुपान्तरण गर्नुपर्ने महासङ्घको भनाइ छ ।