स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार
भोजपुर –आयुर्वेदिक उपचार पद्धति स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ ।
दैनिक रूपमा १ सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ८ हजार ४१५ बिरामीले सेवा लिएका छन् । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी छन् ।
बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर, दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप गर्दै रोग अनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ ।
केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सक अभावमा सेवाप्रवाह गर्न केही कठिनाइ रहेको जनाएको छ । मानिसहरू खास गरेर एन्टिबायोटिक औषधि खाएर रोगलाई चाँडो निको बनाउन चाहने भए पनि भोजपुरमा भने आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन् । विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ ।
लामो समयसम्म ठूल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् ।
स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको अनुभव सुनाए ।
केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा छ । बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्स लगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वबारे जानकारी हुन थालेपछि आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन्। आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताइन् ।
आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताए । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।
२०५८ सालदेखि जिल्लामा आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो। भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय, दिङ्ला औषधालय र ओख्रे औषधालय शाखा रहेका छन् ।
त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।