Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

आइतबार, चैत ५, २०७९

बागलुङ–स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे ।

प्राथमिक तह पढ्नकै लागि घन्टौँको दूरी पार गर्नुपथ्र्यो । घन्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पाइँदैनथ्यो ।

तर अहिले त्यस्ता समस्या केही विद्यालयमा बाहेक धेरैमा छैन । पक्की भवन, खेलमैदान र अन्य पूर्वाधार अधिकांश विद्यालयमा बनेका छन् ।

विद्यालयमा भौतिक संरचना थपिँदै छन् भने गुरणस्तर खस्कँदो छ । पहिलेको जस्तो विद्यार्थीको चाप पनि छैन । गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ ।

अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बागलुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन् ।

बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिकालगायतका पालिकाले विद्यालय समायोजन गर्न थालेका हुन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि ४ विद्यालय समायोजन गरेको छ ।

२० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए । यस वर्ष करिब ४ विद्यालय समायोजन गर्ने चरणमा रहेको उनको भनाइ छ ।

घर्तीले भने, ‘विद्यार्थी कम भएका विद्यालयलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयमा विद्यार्थी निकै बढिरहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयमा भने विद्यार्थी बढी छन् ।’

गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ । नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभएका विद्यालयलाई समायोजन गरिने खड्काको भनाइ छ ।

उनका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा छन् । काठेखोला गाउँपालिकामा २ विद्यालय समायोजन गर्ने स्थितिमा छन् ।

बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ । नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी नीति बनाएर पठनपाठनलाई प्रभावकारी बनाउने जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताए ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ बढिरहेको छ । निजी विद्यालयमा तल्लो तहदेखिनै विद्यार्थीको चाप देखिन्छ । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताए । सामुदायिक विद्यालय अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउनतर्फ लाग्नुपर्नेमा प्रमुख उपाध्यायले जोड दिए ।

जिल्लामा अहिले ५१४ सामुदायिक र ५९ निजी गरी ५७३ विद्यालय सञ्चालनमा छन् । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका अनुसार ६२ हजार ३२१ जना सामुदायिक र ११ हजार ३७० जना गरी ७४ हजार ३५७ जना विद्यार्थी अध्ययनरत छन् ।

जिल्लाभर ७४ हजार ३५७ विद्यार्थी छन् । जसमा ३५ हजार ९८० छात्रा र ३८ हजार ३७३ जना छात्र अध्ययनरत छन् ।

जिल्लाभर १४ दशमलव ८ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सामुदायिकतर्फ छात्र ३१ हजार ८९७ जना र छात्रा ३१ हजार ४२० जना छन् भने निजी विद्यालयमा छात्र ६ हजार ४७६ र छात्रा ४ हजार ५६० जना अध्ययन गरिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्