Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलि १ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

आइतबार, चैत ५, २०७९

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिए ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्रीले पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ । १० दलको समर्थन भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन् । केही स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ ।

७९ जना सांसद भएको नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ । १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बसेको छ । कांग्रेसलगायत दल प्रतिनिधि सभाको आइतबारको बैठकबाट सत्तापक्ष लहरमा बसेका थिए भने एमाले र राप्रपा प्रतिपक्षी लहरमा बसेका छन् ।

कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पार्टी बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अहिलेकै सरकारमा मन्त्रिपरिषद बिस्तारका काम अघि बढ्नेछन् । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्