मनाङ–मस्र्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता
काठमाडौं–१३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो । कोरोना सङ्क्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट प्रारम्भ गरिएको हो ।
आगामी ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी १ नेपाली र ३ चिनियाँ कम्पनीको साझेदारीमा जलविद्युत् आयोजना निर्माण सुरु भएको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतिक महर्जनले बताए ।
आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् । आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र ३ चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।
‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक ७६६ दशमलव ५९३ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।
सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड ४३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव २०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुस २०७९ मा सम्झौता भएको थियो ।