Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ब्ल्याक सी’को खाद्यान्न सम्झौता विस्तार भएको राष्ट्रसङ्घद्वारा पुष्टि

सोमबार, चैत ६, २०७९

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घले युक्रेनका तोकिएका सामुद्रिक बन्दरगाहबाट खाद्यान्न, सम्बन्धित खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने सम्झौताको समयावधि थप भएको पुष्टि गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले इस्तानबुलमा २२ जुलाई २०२२ मा हस्ताक्षर गरिएको ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ को समयावधि थप गरिएको हालै बताएका हुन् । 

रुस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेन र रूसबाट अनाज र मल निर्यातमा अलग–अलग एक कागजातमा सन् २०२२ जुलाई २२ मा हस्ताक्षर गरेका थियो । यसको उद्देश्य रुस–युक्रेन सशस्त्र द्वन्द्वको बीचमा विश्व बजारमा आपूर्ति सुनिश्चित गनु रहेको बताइएको छ ।

सुरुमा १२० दिनका लागि लागू भएको यो सम्झौता सन् २०२२ को नोभेम्बरको मध्यमा थप १२० दिनका लागि बढाएर मार्च १८ सम्मका लागि बिस्तार गरिएको थियो ।

‘ब्ल्याक सी ग्रेन इनिसियटिभलाई कूटनीतिक र परिचालन समर्थनका लागि हामी टर्की सरकारप्रति कृतज्ञता व्यक्त गर्दछौं,’ दुजारिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
 
सम्झौताको पहिलो दुई अवधिमा करिब दुई करोड ५० लाख मेट्रिक टन खाद्यान्न ४५ देशमा पठाएको थियो । 

यसले विश्वव्यापी खाद्य मूल्य घटाउन र बजारलाई स्थिर बनाउन मद्दत गरेको छ । रुस र संयुक्त राष्ट्रसङ्घले जुलाई २०२२ मा रुसी खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहज तुल्याउन समानान्तर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

दुजारिकले रुससँगको सम्झौतासँगै ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ विश्वव्यापी खाद्य सुरक्षाका लागि र यसमा पनि विशेषगरी विकासशील मुलुकहरूका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । 

उनले भने, ‘हामी दुवै सम्झौताप्रति दृढतापूर्वक प्रतिबद्ध छौं र हामी सबै पक्षलाई पूर्णरूपमा कार्यान्वयन गर्न आफ्नो प्रयासलाई दोब्बर बनाउन आग्रह गर्दछौं ।’

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार