Nic Ad Nic Ad
Nic Ad Nic Ad

५४ मेगावाटको सुपरदोर्दी ‘ख’बाट चैतभित्रै विद्युत् उत्पादन हुने, लागत भने बढ्ने 

सोमबार, चैत ६, २०७९

काठमाडौँ– लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट चैत मसान्तभित्र विद्युत् उत्पादन हुने भएको छ । पिपुल्स हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको सो आयोजनाका सम्पूर्ण काम सकेर विद्युत् उत्पादनको परीक्षण गरिने भएको हो ।

‘यसै महिना (चैत)भित्र विद्युत् उत्पादन गर्ने योजनाका साथ काम भइरहेको छ’ प्रवद्र्धक पिपुल्स हाइड्रोपावर लिमिटेडका आयोजना निर्देशक अर्जुन गौतमले भने, ‘सबैजसो काम सकिएको छ । पानी पठाएर परीक्षण पनि गरिसक्यौँ ।’ 

भूकम्प, नाकाबन्दी र कोरोना महामारीलगायतका बिषम् परिस्थितिसँग जुध्दै आयोजनाको निर्माणले गति लिइनै रह्यो । यसअघि २०७८ फागुन भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइए पनि २०७९ असारमा दोर्दीखोलामा आएको बाढीले आयोजनाका संरचनामा क्षति पुर्याउँदा आयोजना केही लम्बिन गएको हो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, पावर हाउस र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९७ प्रतिशत काम सकिएको छ । चैत मसान्तभित्र आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने आयोजना पक्षले जनाएको छ ।

कोरोना महामारीका बेला ६ महिना आयोजनाको निर्माण पूर्ण प्रभावित भयो । आयोजनाका कामदार तथा श्रमिक आफ्नो देश फर्कदा निर्माण अवरुद्ध बन्यो । आयोजनामा अधिकांश भारतीय र स्वदेशी श्रमिक तथा कामदार कार्यरत थिए । उनीहरूले लामो समय नफर्किदा निर्माणमा अवरोध हुन पुग्दा आयोजना केही लम्बिन पुगेको आयोजनाका निर्देशक गौतमले बताए ।

अहिले भने सम्पूर्ण कामदार र श्रमिक आयोजनास्थलमै आइसकेर काम अघि बढाएपछि चैत मसान्तसम्म विद्युत् उत्पादनको लक्ष्य राखिएको गौतमले बताए । दोर्दी गाउँपालिका–७, ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दी खोलामा निर्माणाधीन उक्त आयोजना रन अफ दि रिभर (आरओआर) प्रकृतिको हो ।

यसअघि ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने भनेर सम्झौता भए पनि इन्टेकलाई माथि सार्दा ५४ मेगावाट बिजुली उत्पादन हुने अध्ययनले देखाएको थियो । आयोजना २५७ मिटर लामो सुरुङमार्गबाट पानी खसालेर ५४ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको पावरहाउसहित सम्पूर्ण संरचना भूमिगत हुनेछन् । आयोजनाबाट उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

६ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना आफैँले बनाउने भएको हो । प्रसारण लाइनको काम अन्तिम चरणमै पुगेको पनि जनाइएको छ । सो प्रसारण लाइनबाट विद्युत् प्रवाह गरी कीर्तिपुर सबस्टेसनमा जडान गरिनेछ । जलविद्युत् आयोजना निर्माण २०७३ असारदेखि सुरु भएको थियो । 

आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिएए) भने २०७२ सालमा नै पाइसकेको छ । कुल ८ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजना लम्बिएसँगै लागत पनि बढ्ने गौतमले बताए । आयोजनामा सानिमा बैंकसहित ९ वटा बैंकले लगानी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्