रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
काठमाडौं- महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीको कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता समेत रहेका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए ।
‘उहाँ (रवि लामिछाने) विरुद्ध नचलाउने निर्णय भएको छ,’ सिएन नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै रेग्मीले भने ।
यसअघि, जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । सोही आधारमा सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।
जिल्लाको सो निर्णय उच्च सरकारी वकिल कार्यलय पाटनमा जानकारी गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेको छ ।