भारत र जापानका प्रधानमन्त्रीबीच विश्व राजनीतिबारे छलफल
नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच सोबार विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ ।
भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोबारे जानकारी गराएका हुन् । उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे छलफल गरेको जानकारी दिएका हुन् ।
भेटमा दुई नेताबीच यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे छलफल भएको हो ? भन्ने प्रश्नको जवाफमा क्वात्राले भने, ‘मैले उल्लेख गरेझैं दुई नेताले हाम्रो क्षेत्र र विश्वव्यापी रूपमा भइरहेको घटनाक्रमका बारेमा पनि कुरा गर्नु भएको थियो । ती छलफलहरूमा उहाँहरूले यस क्षेत्रमा हामीले सामना गर्ने चुनौतीहरूको बारेमा कुरा गर्नु भएको छ ।’
भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ ।