लुम्बिनी प्रदेश सभा बैठक स्थगित [सूचनासहित]
रुपन्देही–लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
मंगलबारका लागि आह्वान गरिएको बैठक सचिवालयले सूचना प्रकाशन गरेर स्थष्ति भएको जानकारी दिएको छ ।
मंगलबार बस्ने भनिएको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेका थिए । सोही तयारीका लागि सोमबार गठबन्धन दलको बैठक पनि बसेको थियो । नयाँ गठबन्धन दलको बैठकपछि सदन स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको बैठक सभामुख तुलाराम घर्तीको निर्देशानुसार स्थगित गरिएको जनाएका छन् । अर्को बैठकको सूचना पछि प्रकाशित हुने उनले बताए ।
यसअघि फागुन १७ गते पनि सरकारमा सहभागी साना दलले विश्वासको मत फिर्ता लिनका लागि बैठक आह्वान गरिएको थियो । तर, त्यो दिन पनि राष्ट्रपतिको निर्वाचनपछि सबै दलले एकैसाथ समर्थन फिर्ता लिने भन्दै लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई रोकेएको थिए ।
लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ ।
लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् । माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन् ।