Nic Ad Nic Ad
Nic Ad Nic Ad

टर्की र सिरियाका भूकम्पपीडितका लागि ७ अर्ब युरो सहयोग गर्ने अन्तर्राष्ट्रिय दाताहरूको प्रतिबद्धता

बुधबार, चैत ८, २०७९

ब्रसेल्स– टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा गरेका छन् । ती भूकम्पपीडितका लागि सहयोग रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले  ब्रसेल्समा आयोजना गरेको दाताहरूको सम्मेलनका क्रममा उनीहरूले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।

हालै अन्तर्राष्ट्रिय दाताहरूबाट सो सहयोगको प्रतिबद्धता आएको बताइएको हो । गत महिनाको विनाशकारी ७।८ म्याग्निच्युडको भूकम्पले यी दुई देशमा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

यस भूकम्पबाट प्रभावित हुने र विस्थापित हुने व्यक्तिको सङ्ख्या पनि लाखौँ रहेको संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमान रहेको छ । एक प्रारम्भिक प्रतिवेदनका अनुसार टर्कीमा मात्रै एक सय अर्ब डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उक्त क्षेत्रमा गत हप्ता आएको बाढीले पनि थप दुःख भएको जनाइएको छ ।

हालै आयोजना गरिएको सो दाता सम्मेलनमा विश्वका विभिन्न देशका ६० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । हाल टर्की र सिरियामा सङ्कटग्रस्त अवस्था रहेको र तत्कालै उनीहरूका लागि आवश्यक सहयोग जुटाउन सो सम्मेलनको आयोजना गरिएको र त्यसमा तत्कालै आवश्यक पर्ने सङ्कटकालीन सहयोग अन्तर्गत यो प्रतिबद्धता आएको बताइएको हो ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०५:४३
प्रतिक्रिया दिनुहोस्