Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनका विषयमा छलफल गर्न १ बजे जसपाको बैठक बस्दै

बुधबार, चैत ८, २०७९

काठमाडौँ– आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

आजको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । 

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ । 

यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्