थ्री नेसन्स कप आजदेखि : लाओसविरुद्ध उत्रँदै नेपाल
काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले लाओससँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ ।
मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यो प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताएका थिए ।
उनको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको दाबीसमेत गरेका थिए ।
त्यस्तै कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताए । उनले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रनेसमेत दाबी गरे ।
यो प्रतियोगिता आजदेखि सुररु भएर यसै महिनाको १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भूटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।
प्रतियोगिताको खेल हेर्न चाहने दर्शकका लागि सामान्य प्यारापिटतर्फ रु पाँच सय र भिभिआइपीतर्फ रु एक हजार तोकिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।