नेभिगेशन
समाचार

स्वतन्त्र प्रदेशसभा सांसद पुन माओवादी केन्द्रमा

तुलसीपुर– लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुन नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै सो पार्टी रोजेको बताएका हुन् ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका हुन् । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् ।

पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । योसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार