Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ–१ मा उपनिर्वाचनको तयारी सुरु

बुधबार, चैत ८, २०७९

तनहुँ –तनहुँ क्षेत्र –१ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो । क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । रिक्त हुने प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा, ८४ को उपदफा (७) बमोजिम प्रतिनिधिसभा कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिने व्यवस्था रहेबमोजिम यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई बुधबारदेखि चैत १२ गतेसम्म नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ता गर्ने समय उपलब्ध गराउने निर्णय भएको छ । उपनिर्वाचनका लागि तनहुँमा चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । त्यस्तै, २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । निर्वाचन कार्यालयका प्रमुख ढकालले उपनिर्वाचनको मिति तोकिएसँगै आवश्यक तयारीका काम सुरु गरिएको जानकारी दिए । गत मङ्सिर ४ गतेसम्म तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व पार्टी सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकाङ्क्षी रहेका छन् । दुई पटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले यो पटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले बताए । भट्टराईले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् । 

‘पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु, उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शङ्का छैन’, उनले भने । पूर्वपार्टी सभापति पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् । आफूले अहिलेसम्म अवसर नपाएकाले एकपटक अवसर पाउनुपर्ने भन्दै उहाँ राजधानीमा नेताहरुसँग भेटघाटमा लागिसकेका छन् । 

संविधानसभा सदस्य पोख्रेलले विसं २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताए । ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन, यो पटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु’, पोख्रेलले भने । नेकपा (एमाले) का तर्फबाट राना, रामबहादुर गुरुङ, किरण गुरुङलगायत आकाङ्क्षी रहेका छन् । गत मङ्सिरमा निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेको खण्डमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) उपनिर्वाचनमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मङ्सिर ४ गतेको निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरुले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ । 

तनहुँ–१ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा नेकपा (एस) का तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए ।

‘गत निर्वाचनमा हाम्रो पार्टीले तनहुँमा एक सिट पनि पाएन, तैपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्यौँ, उपनिर्वाचनमा हाम्रो सशक्त दाबा रहन्छ’, कार्कीले भने । एकीकृत समाजवादीले आवश्यक परेको खण्डमा केन्दीय नेतालाई नै उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्