Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल

बुधबार, चैत ८, २०७९

दमौली –पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ ।

आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । महाभारत शृङ्खलाअन्तर्गत तनहुँकै अग्लो स्थानमा रहेको छिम्केश्वरी यही गाउँपालिकामा पर्दछ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

गाउँपालिकाले वडा नं ४ मा रहेको मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवान्का आकृति बनाइरहेको छ । यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउन यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुद्न सुरु गरिएको छ । 

ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ थप पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट आवश्यक पर्ने देखिएको छ । थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा जीप फ्लायरको सम्भाव्यता अध्ययन गर्न लागिएको छ । छिम्केश्वरी मन्दिरको प्रवद्र्धनका लागि जीप फ्लायर सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने चुमानले बताए । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि केही नवीन काम गर्न खोजेको छ । गाउँपालिकामा रहेको १५ शैयाको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिदेखि विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि प्रयास थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले आफ्नो भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वडा कार्यालय बरु अन्य ठाउँमा सञ्चालन गरेर सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकिएको छ । उक्त निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेछ । आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् ।

पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीको आँपको बृहत् बगैँचा भएकाले आँबु र आसपासमा खयरको समेत जङ्ल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभं«स भई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । यहाँ भौगोलिकरुपमा लेक, बेँसी, पहाड भूबनोटको विविधता पाइन्छ । यहाँ मुख्य गरी मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोबास रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार