Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितुवा कुश्मा बजारमा पसेपछि...

बुधबार, चैत ८, २०७९

कुश्मा– पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा पर्‍यो । चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे । 

पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो । त्यसपछि छेउमा अवस्थित ओमबहादुर रेग्मीको पहेँलो घरको भान्छा कोठामा पस्यो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भइसकेका थिए । घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा साँचो लगायो । 

‘करिब तीन घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ’, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले भने, ‘कुनै पनि अप्रिय घटना हुन पाएन । पोखरा वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ ।’ 

चितुवा हेर्न आउनेको भीड हटाउन प्रहरीलाई मुस्किल परेको थियो । डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनुपरेको थियो । 

‘हामीले भेटेरिनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ’, वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, ‘भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्क्याएपछि चितुवा खोरमा पस्यो । बेहोस नबनाइकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ ।’

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए । ‘भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ । तर, त्यो पोथी चितुवा रहेछ । हामीसँग पोथी चितुवा भएकै स्थितिमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ’, उनले भने ।

चितुवाका कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ ।

डेढ वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । दुई हप्ताअघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, उक्त चितुवा जिउँदो नभएर मरिसकेको थियो । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार