‘जातीवाद’को आरोप लगाउँदै राष्ट्रिय टोली छोडेका ओजिलले क्लब फुटबलबाट पनि लिए सन्यास
काठमाडौँ– कुनैबेला आफू ‘जातीवाद’को शिकार भएको आरोप लगाउँदै जर्मन राष्ट्रिय टोली छोडेका मिडफिल्डर मेसुट ओजिलले क्लब फुटबलबाट पनि सन्यासको घोषणा गरेका छन् ।
ओजिलले ३४ वर्षको उमेरमै सबैखाले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
आर्सनल र रियल म्याड्रिडका पूर्वमिडफिल्डर ओजिलले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन् ।
‘मैले १७ वर्ष व्यवसायिक फुटबल खेलेँ । म आफूलाई खेलाडीको विशेषाधिकार पाएको भन्ने ठान्छु । म यो अवसरका अविश्वसनीय मान्छु र आभर महसुस गर्छु,’ सन्यास घोषणा गर्दै उनले लेखेका छन् ।
ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बासाकसेहिरबाट खेलिरहेका थिए ।
सन् २०१८ मा रुसमा भएको विश्वकपमा तत्कालीन साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । यसलाई लिएर खेलाडीहरूलाई समर्थकले गाली गरेका थिए ।
टर्किस मूलका ओजिलले भने सो गाली नसकी २९ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । सो बेला उनले जर्मन टोलीमा जातीवाद हाबी रहेको बताएका थिए ।
सन् २००९ मा जर्मन टोलीमा डेब्यू गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेलेका छन् ।
सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा ओजिल मुख्य खेलाडीमध्ये एक रहेका थिए ।
पाँच पटक जर्मन वर्ष खेलाडी चुनिएका ओजिलले सन् २०१० को विश्वकप र २०१२ र २०१६ को युरोकपसमेत खेलेका थिए ।