नेभिगेशन
समाज विविध

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखियो

काठमाडौँ– नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । 

सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

‘भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्’, उनले भने, ‘हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन् ।’ उनले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध