Nic Ad Nic Ad
Nic Ad Nic Ad

६२ वर्षपछि इंग्ल्यान्डले इटालीलाई उसकै घरेलु मैदानमा हरायो, केन बने सर्वाधिक गोलकर्ता

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– ६२ वर्षपछि इंग्ल्यान्डले इटालीलाई उसकै घरेलु मैदानमा हराएको छ ।

गएराति भएको युरोकप २०२४ को छनोटमा इंग्ल्यान्डले घरेलु टोली इटालीलाई २–१ ले हराएको हो । 

यससँगै सन् १९६१ पछि इंग्ल्यान्डले इटालीमा पहिलो जित हासिल गरेको छ । साथै, इंग्यान्डले सन् २०२१ को युरोकप फाइनलमा घरेलु मैदानमै पराजित भएर उपाधि गुमाउनुपरेको क्षणको इटालीसँग बदलासमेत लिएको छ । 

इंग्ल्यान्डले जित निकाल्दा कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । उनले इटालीविरुद्ध निर्णायक दोस्रो गोल गर्दै वायन रुनीको कीर्तिमानलाई जितेका हुन् ।

रुनीले २००३ देखि २०१८ को अवधिमा १२० खेलबाट ५३ गोल गर्दै इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका थिए ।

रुनीको त्यो कीर्तिमानलाई २९ वर्षीय केनले ८१ खेलमा ५४ गोल गर्दै तोडेका हुन् । 

नापोलीस्थित डिएगो अर्मान्डो म्याराडोना रंगशालामा भएको खेलमा इंग्ल्यान्डले १३औँ मिनेटमै अग्रता लिएको थियो । डेक्लन राइसले अग्रता लिएका हुन् । केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । तर, माटियो रेटेगुईले ५६औँ मिनेटमा गोल गर्दै इटालीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर, थप गोल गर्न नसक्दा खेल इंग्ल्यान्डले २–१ ले जित्यो ।

यस जितसँगै समूह ‘सी’ रहेको इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्