‘द हन्ड्रेड’मा सन्दीप र अर्जुन दुवै ‘अनसोल्ड’
काठमाडौँ– इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप लामिछाने र अर्जुन साउद दुवै अनसोल्ड भएका छन् ।
गएराति लन्डनमा भएको अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप र युवा विकेटकिपर तथा ब्याटर अर्जुनलाई १०० बलको उक्त प्रतियोगितामा कुनै पनि टोलीले बोली लगाएन् ।
सन्दीपले यसअघि प्रतियोगिताको पहिलो संस्करणमा ओभल इनभिनसिबल्सबाट खेल्ने पक्का भएको थियो तर, उनी भिसा समस्याका कारण लन्डन पुगेर नखेली फर्किनुपरेको थियो । अर्जुनको नाम पहिलो पटक प्रतियोगिताको ड्राफ्टमा परेको हो ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता अगस्ट १ देखि २७ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा बिरमिनगाम फोनिक्स, लन्डन स्पिरिट, ओभल इनभिनसिबल्स, साउथर्न ब्रेभ, ट्रेन्ट रकेट्स र विल्स फायर गरी ८ टिमको सहभागिता रहने छ ।
ड्राफ्टमा २८ भन्दा बढी देशका ८ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले नाम दर्ता गरेका थिए । महिला र पुरुषको ड्राफ्ट संयुक्त रूपमा गरिएको थियो ।