ललितपुर मेयर महिला च्याम्पियनसिप : एपीएफले निकाल्यो दोस्रो जित
काठमाडौं–सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । एपीएफले शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध १५ रनको जित दर्ता ग¥यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा १२१ रनको योगफल खडा गरेको थियो ।
प्रतियोगितामा लगातार दोस्रो जित निकालेको एपीएफले यसअघि पहिलो खेलमा मधेस प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको थियो । प्रतियोगितामा सुदूरपश्चिमको भने यो पहिलो हार हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई ५० रनले पराजित गरेको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमको सहभागिता छ ।