Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –नेपालसहित विश्वभर ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइदैछ ।

नेपालमा बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् ।

डा. शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झन्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रूपमा रहेको छ’, उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आव २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा थिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड ६ लाख मानिस क्षयरोगबाट ग्रसित थिए । सन् २०२१ मा विश्वभर करिब १६ लाख मानिसको क्षयरोगका कारण मृत्यु भएको थियो ।

नेपाल सरकारले आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यको रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८÷७९–२०८२÷८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

रणनीतिक योजनामा गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।

केन्द्रका निर्देशक डा. शाहले स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोगमुक्त बनाइने बताए । आव २०७८÷७९ मा २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरिएको थियो ।  चालु आवमामा १०० स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र ७५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ ।

सरकारले राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र र ८१ डीआर उपकेन्द्रबाट क्षयरोगको उपचार गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार