Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती र गण्डकी सरकार अल्पमतमा

शुक्रबार, चैत १०, २०७९

 

काठमाडौं– बागमती प्रदेश सरकारबाट नेकपा एमाले र गण्डकी प्रदेश सरकारबाट नेकपा (माआवादी केन्द्र)ले बाहिरिएको छ ।

बागमती प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् ।

मन्त्री थपलियाले अब एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताए ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर २६ पुसमा जमकट्टेल मुख्यमन्त्री बनेका थिए । 

यसअघि राप्रपाका ३ जना मन्त्रीले १३ फागुनमा  प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए । राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिदैछन् ।

 

गण्डकीबाट माओवादी बाहिर


माआवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता निर्णय गरेको हो ।
माओवादी सरकारबाट बाहिरिएसँगै खजराज अधिकारी नेतृत्वको एमाले सरकार ढल्ने निश्चित छ ।
अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।
मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको सत्ता समीकरणमा उनले विश्वासको मत पाउन असम्भव छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्