राहुल गान्धी संसद सदस्य हुन अयोग्य
काठमाडौं –भारतका प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ ।
लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो ।
गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए । बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।
एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।
सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ ।