Nic Ad Nic Ad
Nic Ad Nic Ad

४३ तथ्यमा राष्ट्रिय जनगणना

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपालको १२ औ जनागणनाले विभिन्न तथ्यहरू उजागर गरेको छ । सार्वजनिक नतिजा अनुसार यस्ता छन जनसंख्यासम्बन्धी ४३ तथ्यहरु 

१. कुल जनसंख्या

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या९५.५९ रहेको छ । गत २०६८ सालमा कुल जनसंख्या २,६४,९४,५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

२. अन्य लिंगीको जनसंख्या

कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । कुल अन्य लिङ्गी मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ ।

३. वार्षिक जनसंख्या वृद्धिदर

जनगणना अवधिको वार्षिक औषत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणना अनुसार १.३५ प्रतिशत प्रति वर्ष थियो । सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् ।

४. जनघनत्व

जनगणनाको नतिजा अनुसार जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रति वर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको छ ।

५.  उमेर समूहअनुसार जनसंख्या

कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६.९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७.८३ प्रतिशत र १०.२१ प्रतिशत रहेको छ ।

६. परिवार संख्या

अघिल्लो जनगणना अनुसार ५४,२७,३०२ परिवार संख्या रहेकोमा हाल उक्त संख्या करिव २३ प्रतिशतले बढेर ६६,६६,९३७ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् ।

७. परिवारका औसत आकार

२०७८ सालमा प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।

८. नगरपालिका तथा गाउँपालिकाको जनसंख्या

गाउँपालिकाहरुको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरुको जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरुको जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो । गत २०६८ सालको जनगणनामा नगरपालिका क्षेत्रको लैङ्गिक अनुपात ९५.८९ रहेकोमा २०७८ को नतिजा अनुसार ९६.०६ कायम भएको छ भने गाउँपालिका क्षेत्रमा गत जनगणनाको ९१.२७ बाट बढेर ९४.६८ पुगेको छ ।

९. सबै भन्दा धेरै र कम जनसंख्या भएका जिल्ला

प्राप्त नतिजाअनुसार देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा २०,४१,५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोवास रहेको छ । मोरब, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरु हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

१०. भौगोलिक क्षेत्रअनुसार जनसंख्या

 तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ, जुन दश वर्ष अघि अर्थात २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना) रहेको थियो ।

११. प्रदेश अनुसार जनसंख्या

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः कोशी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

१२.  घरको प्रयोग 

मुख्य प्रयोग अनुसार संकलन गरिएको देशभरका सम्पुर्ण घरहरुको विवरणअनुसार धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको आधारमा मुख्य प्रयोगलाई विभिन्न १२ (बाह्र) प्रकारमा वर्गिकरण गरिएको छ ।  देशभर जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ, जसमध्ये मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ÷धन्सार÷मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग÷कलकारखाना र संस्थागत तथा सरकारी ०.४÷०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरु मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।

१३. घर वा आवासीय एकाइको स्वामित्व

परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन् । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । हालको गणनाअनुसार ०.६ प्रतिशत परिवारहरु संस्थागत एकाइमा र ०.७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेका छन् ।

१४. खानेपानीको मुख्य स्रोत

कुल ६६,६०,८४१ परिवार मध्ये ५७.० प्रतिशत परिवारले धारा÷पाइप (घरपरिसर भित्र र बाहिर समेत) बाट, २९.८ प्रतिशतले ट्युववेल÷हाते पम्पबाट, १.५ प्रतिशतले ढाकिएको इनार÷कुवाबाट, ३.९ प्रतिशतले मूल धाराबाट र ४.६ प्रतिशतले जार÷बोतलबाट पिउने पानी मुख्यरूपमा प्रयोग गर्ने गरेका छन् । खुला इनार÷कुवाबाट पानीको प्रयोग गर्ने घरपरिवार २.१ प्रतिशत, नदी÷खोलाबाट पिउने पानी प्रयोग गर्ने परिवारहरु ०.४ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०६८ मा कुल ५४ लाख २३ हजार २९७ परिवार मध्ये ४७.८ प्रतिशत परिवारले धारा÷पाइपबाट (घरपरिसर भित्र र बाहिर समेत) र ३५.१ प्रतिशतले ट्युववेल÷हाते पम्पबाट पिउने पानी मुख्य रूपमा प्रयोग गर्ने गरेका थिए ।

१५. खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन

देशका कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल.पि.ग्याँस, बिजुली, गुईठा÷गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।

१६. बत्ती बाल्न अक्सर प्रयोग गरिने स्रोत

धेरैजसो घरपरिवारहरुले आफू बसोबास गरेको घर÷आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ । बत्ती बाल्नका लागि अक्सर सोलार÷सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत रहेको थियो ।

१७. परिवारले उपयोग गरेका साधन र सुविधा

 ३.८८ प्रतिशत परिवारहरुमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरु उपलव्ध नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको छ ।

१८. शौचालयको सुविधा

कुल ६६,६०,८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ । गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थिए ।

१९. परिवारमा महिलाको नाममा रहेको घरजग्गा

कुल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो ।

२०. कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन 

कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६,२७,८८७ (९.४%) रहेका छन् । यस्ता साना घरेलु व्यवसाय सञ्चालन गर्ने कुल परिवारमध्ये घरेलु उद्योग १,३७,६४४ (२१.९ %), व्यापार÷व्यवसाय ३,१०,६५१ (४९.५ %), यातायात ३४,६५६ (५.५%), सेवा ६९,१७७ (११.०%) र ७५,५५९ (१२.०%) अन्य किसिमका व्यवसाय सञ्चालन गर्ने परिवार छन् । उल्लेखित साना घरेलु व्यवसाय मध्ये मुख्य रुपमा पुरुषले सञ्चालन गरेका ५५.० प्रतिशत र महिलाले सञ्चालन गरेका ४५.० प्रतिशत रहेका छन् । यसैगरी प्रदेशगत रुपमा कुल साना घरेलु व्यवसाय मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १,५३,५२२ (२४.५%) र सबैभन्दा कम कर्णाली प्रदेशमा ३२,४६३ (५.२%) वटा परिवारले सञ्चालन गरेका छन् ।

२१. परिवारमा अनुपस्थित (विदेश गएका) व्यक्ति

 जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

२२. मृत्यु विवरण 

कुल ६६,६०,८४१ परिवार मध्ये १,९२,१७८ परिवारमा जनगणना दिनको अघिको बाह्र महिनाको अवधिमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको थियो । उल्लेखित १,९२,१७८ परिवारमा कुल १,९८,४६३ जनाको मृत्यु भएको थियो जसमा पुरुष ५७.९ प्रतिशत र महिला ४२.१ प्रतिशत रहेका थिए । मृतक मध्ये नगरपालिका क्षेत्रबाट कुल १,३२,६०८ जना र गाउँपालिका क्षेत्रबाट ६५,८५५ जनाको मृत्यु भएको छ ।

२३. महिला परिवारमूली

कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् जुन २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढि हो ।

२४. वैवाहिक अवस्था

१० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिलाहरु उनीहरुको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।

२५. पहिलो विवाह गर्दाको उमेर 

धेरैजसो व्यक्तिहरु (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत छन् । दश वर्षमूनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।

२६. अपाङ्गता

कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । २०६८ को जनगणनामा कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिमा कुनै एक वा एक भन्दा बढी प्रकारको अपाङ्गता रहेको थियो ।

२७. साक्षरता दर

देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

२८. उत्तीर्ण गरेको शैक्षिक तह

कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् । यसैगरी एस.एल.सि. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।

२९. जन्मस्थानको आधारमा जनसंख्या

जन्मस्थान र हालको बसोबास एउटै गाउँपालिका वा नगरपालिका भएका व्यक्तिहरु ६९.० प्रतिशत रहेका छन् । जसमध्ये पुरुष ७८.३ प्रतिशत र महिला ६० प्रतिशत रहेका छन् । कुल जनसंख्याको ९ प्रतिशत व्यक्तिहरुको जन्मस्थान सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिका, १९.५ प्रतिशत जनसंख्याको अर्को जिल्ला र २.५ प्रतिशतको जन्मस्थान विदेश रहेको छ ।

३०.  बसाइँ सरेको स्थानको आधारमा जनसंख्या

हाल अक्सर बसोबास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै पनि बसोबास नगरेका व्यक्तिहरु ६८.० प्रतिशत छन् जसमध्ये पुरुष ७७.० प्रतिशत र महिला ५९.४ प्रतिशत रहेका छन् । कुल जनसंख्याको १०.८ प्रतिशत व्यक्तिहरुको यस अघिको बसोबास सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिकामा, १८.२ प्रतिशत जनसंख्याको अर्को जिल्लामा र ३.१ प्रतिशतको यस अघिको बसोबास विदेश रहेको छ ।

३१.  बसाइँ सरेको अवधिको आधारमा जनसंख्या

पछिल्लो पटक बसाइँ सरेको अवधिको आधारमा हेर्दा बसाइँ सरेका कुल ९३,४१,४०८ जना मध्ये सबैभन्दा बढी ३१.८ प्रतिशत व्यक्तिहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १०–२४ वर्ष रहेको छ भने सबैभन्दा कम ३.५ प्रतिशत व्यक्तिहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १ वर्ष भन्दा कम रहेको छ । पछिल्लो पटक बसाइँ सरेको अवधि ५० वर्षभन्दा बढी हुने व्यक्तिहरु ४.० प्रतिशत रहेका छन् । यसैगरी लैङ्गिक हिसावले सबैभन्दा बढी २९.१ प्रतिशत पुरुषहरु र ३३.३ प्रतिशत महिलाहरुको पछिल्लो पटक बसाइँ सरेको अवधि १०–२४ वर्ष रहेको छ ।

३२. हाल बसाइँ सर्नुको कारण

यस अघिको बसोबास गरेको स्थानबाट गणना भएको स्थानमा आउनुको मुख्य कारणमा सबैभन्दा बढी ३८.२ प्रतिशत विवाह रहेको छ । हाल बसोबास गरेको स्थानमा आउनुका अन्य कारणहरु काम÷रोजगारी १५.२ प्रतिशत, व्यापार÷व्यवसाय २.८ प्रतिशत, अध्ययन÷तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत, प्राकृतिक प्रकोप ०.७ प्रतिशत, कृषि ३.९ प्रतिशत, घर फर्किएको ४.१ प्रतिशत र अन्य ६.६ प्रतिशत रहेका छन् । बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.६ प्रतिशत काम÷रोजगारीको कारण र महिला ५८.२ प्रतिशत विवाहका कारण रहेका छन् ।

३३. महिलाको प्रजनन् अवस्था

१५–४९ वर्षका विवाहित महिला (६१,४५,०३९ जना) मध्ये १२ प्रतिशतले गणनाको समयसम्म कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत रहेको छ । गणनाको समयसम्म १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेका छन् भने ९ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत रहेको छ । १५–४९ वर्षका कुल ६१,४५,०३९ विवाहित महिलाले हालसम्म १,२७,९९,९६९ बच्चा जन्माएका छन् । जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत रहेको छ । कुल जीवित जन्मेका बच्चाहरुमध्ये ३.२ प्रतिशतको मृत्यृ भएको थियो । मृत्यु भएका बच्चाहरुमध्ये छोरा ५७.६ प्रतिशत र छोरी ४२.४ प्रतिशत रहेको छ ।

३४. महिलाको हालको प्रजनन् अवस्था

गणनाको दिनदेखि १२ महिना अघिको समयमा कुल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको थियो जसमध्ये २ लाख १८ हजार ७४ जना अर्थात ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७.२ प्रतिशत छोरीको जन्म भएको थियो । १ वर्षको अवधिमा जन्मेका बच्चाहरुमध्ये सबैभन्दा धेरै ३६.८ प्रतिशत बच्चाको जन्म २०–२४ बर्षका महिलाबाट भएको थियो ।

३५. मातृमृत्यु 

गणनाको सन्दर्भ अवधि (गणना भएको दिन देखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन् उमेर समूह (१५–४९ वर्ष) का १२,९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीबाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत ) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।

३६. बालबालिकाको बसाइँको अवस्था

अठार बर्ष भन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिकामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिकाहरु आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन् ।

३७. आर्थिक काम गरेको अवधि

१० वर्ष वा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरु मध्ये १,४९,८३,३१० जनाले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छ्रैनन् ।

३८. आर्थिक क्रियाकलाप

आर्थिक रुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरु मध्ये १,५६,८९,७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२,११,०१२ जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८,०७९ जना रहेका छन् । अक्सर आर्थिकरुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १,५६,८९,७७७ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १,१०,३८,१०५ जना (७०.३५ प्रतिशत) अक्सर आर्थिकरुपले सक्रिय र ४६,५१,६७२ जना (२९.६५ प्रतिशत) अक्सर आर्थिक रुपले निष्क्रिय रहेका छ्रन् । अक्सर रोजगार जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १,१०,३८,१०५ जना अक्सर आर्थिकरुपले सक्रिय व्यक्तिहरु मध्ये १,०२,७०,४४७ जना (९३.०५ प्रतिशत) अक्सर रोजगार र ७,६७,६५८ जना (६.९५ प्रतिशत) अक्सर बेरोजगार रहेका छन् ।

३९. आर्थिक कामको पेशागत वर्गीकरण 

१० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय पेशागत वर्गीकरण अनुसार प्रस्तुत गरिएको छ । आर्थिक काम गरेका कुल जनसंख्या १,४९,८३,३१० मध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला रहेका छन् । आर्थिक काम गरेका जनसंख्या मध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ५०.१ प्रतिशत रहेका छन् । यसपछि क्रमशः सामान्य वा प्राथमिक पेशाका कामदारहरु २३.० प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरु ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरु ५.६ प्रतिशत, व्यवस्थापकहरु ५.१ प्रतिशत रहेका छन् ।

४०. आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरण 

१० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी प्रस्तुत गरिएको छ । आर्थिक काममा संलग्न १,४९,८३,३१० मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन् । यसपछि क्रमशः थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन् ।

४१. आर्थिक काममा संलग्नता 

गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरु कुल १ करोड ४९ लाख ८३ हजार ३ सय १० जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी आफ्नै काम गर्ने ५५.३ प्रतिशत, अरुको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् ।

४२. आर्थिक कामको संस्थागत क्षेत्र 

गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा बढी घरायसी क्षेत्रमा काम गर्ने ६१.८ प्रतिशत, गैर वित्तीय संस्था ३२.७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत नाफा नकमाउने संस्था ०.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् ।

४३. आर्थिक काम नगर्नुको कारण

दश वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरु मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको देखिन्छ । त्यसपछि अन्य कारणहरुमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त÷बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य÷स्वयंसेवा ०.३ प्रतिशत रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्