पाकिस्तानलाई पहिलोपटक पराजित गर्दै अफगानिस्तानले इतिहास रच्यो
काठमाडौँ– तुलनात्मक बलियो मानिएको पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तानले इतिहास रचेको छ ।
अफगानिस्तानले पहिलो टी–२० आई खेलमा गएराति पाकिस्तानलाई ६ विकेटले हराउँदै इतिहास रचेको हो ।
क्रिकेटका कुनै पनि फम्र्याटका खेलमा अफगानिस्तानले पाकिस्तानलाई पहिलोपटक हराएको हो ।
पाकिस्तानले जितका लागि दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अफगानिस्तानको जितमा मोहम्मद नाबीले अविजित ३८ रन बनाए ।
यस्तै, नाजिबउल्लाह जद्रान पनि १७ रन बनाउन्दै अविजित रहेका थिए । अफगानिस्तान एक समय ४५–४ को अवस्थामा पुगेको थियो । तर, नाबी र जद्रानले ४८ रनको अविजित साझेदारी गरेपछि जित निस्कन सफल भयो ।
पाकिस्तानका इहसानउल्लाहले दुई तथा नसिम शाह र इमाद वासिमले एक–एक विकेट लिए ।
त्यसअघि युएईको शारजाहमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
नयाँ खेलाडीलाई मौका दिएकोमा पाकिस्तानका इमाद वासिमल सर्वाधिक १८ रन बनाए ।
अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले दुई–दुई विकेट लिए । यस्तै, कप्तान राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले समान एक विकेट हात पारे ।
यी दुई टोलीबीचको दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।