कवि उपेन्द्र सुब्बा भन्छन्–फरक कथा लिएर चलचित्रको निर्देशन गरें [ट्रेलरसहित]
काठमाडौं–नेपाली चलचित्रमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए । ‘म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ । नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ,’– उनले भने ।
उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए ।
अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको बताए । ‘यसले श्रीमानसँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौं,’ अभिनेता राईले भने । सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उनले सहजरूपमै लिन आग्रह गरे ।
अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताईन् । ‘मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरे । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो,’– अभिनेत्री मगरले भनिन् । चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन् । उनले राम्रो कथालाई दर्शकसम्म पु¥याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताए । चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।