रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
रुकुम –रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो ।
६ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा ३ गाउँपालिका र ३ नगरपालिका छन् । त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम जारी छ ।
केही ठाउँमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ भने केही ठाउँमा १ तलाको काम सम्पन्न गरेर २ तलाको काम चलिरहेको छ । सानीभेरी गाउँपालिकामा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १७ सामुदायिक विद्यालय छनोट भएकामा सबै सामुदायिक विद्यालयका भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले बताए ।
त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि कार्यक्रमअन्तर्गत छनोट भएका २४ सामुदायिक विद्यालयका भवन निर्माणको काम जारी रहेको गाउँकार्यपालिकाका प्रवक्ता सुन्दर ओलीले जानकारी दिए । उनका अनुसार कुनै विद्यालय भवन ठेकेदारमार्फत निर्माण भइरहेका छन् भने कुनै स्थानीय निर्माण समितिमार्फत काम भइरहेको छ ।
निर्माणकार्य सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा गाउँपालिकाले बेला–बेलामा अनुगमन पनि गरिहेको त्रिवेणीका प्रवक्ता ओलीले बताए । चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा १०–१० सामुदायिक विद्यालयका भवन निर्माण कार्य जारी छ ।
निर्माण भइरहेका सामुदायिक विद्यालयमा २ कोठे र ४ कोठे भवन हुनेछन् । त्यसमा २ कोठे भवन निर्माणका लागि २५ लाख र ३ कोठे भवनका लागि ५० लाख रुपैयाँ बजेट खर्च हुने छ । सामुदायिक विद्यालयमा भवन निर्माण गर्न चालु आवमा रुकुमपश्चिममा ९२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका थिए ।