Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँझो जग्गामा ओखर खेती

शनिबार, चैत ११, २०७९

बागलुङ-गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ ।

गण्डकीमा कोषमार्फत गलकोटसहित ३ पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो । चालु आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँको लागतमा ६२५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेकोे नगरप्रमुख भरत शर्मा गेरैले जानकारी दिए । ‘यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतीमा चालु आर्थिक वर्षमा २ करोड र ४ आर्थिक वर्षमा थप २ करोड गरी ४ करोड खर्च हुनेछ, यहाँका किसान उत्साहित भएका छन्, दुदीलाभाटी, डाँडाखेत र रमुवामा खेती लगाउने काम अन्तिम चरणमा पुगेको छ’, नगर प्रमुख गैरेले भने । उनकाअनुसार मापदण्डअनुसारको खाल्टो तयार र आवश्यक सिँचाइको सुविधा भइसकेको छ भने बिरुवासमेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ । बाँझो जग्गा सदुपयोग मात्रै हैन त्यहाँका किसानले महँगो मूल्यमा ओखर बिक्री गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

यस वर्ष २ करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने ४ आर्थिक वर्षमा पुनः २ लाख रुपैयाँ  खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।  

नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेती गर्न अध्ययन गर्दा बाँझो जग्गा सदुपयोगसमेत हुने गरी ओखर खेतीका लागि गरिएको प्रस्ताव स्वीकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षमा १ करोड ४० लाख रुपैयाँ सङ्घीय सरकार, गलकोट नगरपालिकाको ६० लाख रुपैउाँ र किसानको २० लाख रुपैयाँ सहकार्य हुने सुवेदीले बताए ।

नगरपालिकाको १ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटर उचाइको जग्गामा १० हजार बिरुवा लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मलसमेत राखिसकिएको छ ।

दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा ६२५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइनेछ । ‘६ सय २५ रोपनी जग्गामध्ये ५ सय रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुने र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ’, कृषि शाखा प्रमुख सुवेदीले भने, ‘वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसान उत्साहित बनेर काम गरिरहेका छन्, बिरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, एक महिनाभित्रै बिरुवा लगाउनेछौँ ।’

सुवेदीका अनुसार लगाइएको बिरुवाको हेरचाह, प्रविधिक सहयोग र सिँचाइ सुविधाका लागि नगरपालिकाले लगातार ४ वर्षसम्म २ करोड २० लाख रुपैयाँ नै खर्च गर्नेछ । वडा–१ दुदीलाभाटीमा ४ हजार ४ सय बिरुवा, वडा –४ मा २ हजार ६ सय र वडा–१० ३ हजार ओखरका बिरुवा लगाइने छ । जिल्लामा पहिलो पटक गलकोटमा ओखर खेती गर्न थालिएको हो ।  

सिँचाइको समेत काम भइरहेको छ जसका लागि प्लाष्टिक पोखरी निर्माण र पाइप जडान भइसकेको छ । झाडी र बुट्यान भएको बाँझो जग्गामा किसानले ओखर खेतीका लागि छ महिनाअघिदेखि तयारी थालेका थिए । 

ओखर खेतीले ५ वर्षपछि फल दिन थाल्ने र कार्यविधि बनाएर किसानलाई उक्त ओखर खेती हस्तान्तरण गरिनेछ । ओखर खेतीले नौ वर्षमा लगानी उठाउन सक्ने गरी अध्ययन भएको थियो ।  

किसानले बाँझो जग्गा तयार गरेपछि नगरपालिकाको लगानीमा बिरुवा वितरण भएर अहिले लगाउने काम भइरहेको दुदिलाभाटी व्यावसायिक ओखर समूहका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार