Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका : प्रधानमन्त्री

शनिबार, चैत ११, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरूको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वद्र्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छैटौँ विश्व नेवा दिवसका अवसरमा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले शनिबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए । 

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत संघर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो । पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ,’ उनले भने, ‘नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो ।’

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताए । नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो । आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ,’ उनले भने ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्