शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यालयमा पुस्तक पठाउने जनक शिक्षाको तयारी
काठमाडौं–जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म १ करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।
यस वर्ष कक्षा ६ देखि १० सम्मको १ करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले बताए ।
‘यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, १ करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये १ करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ’ उनले भने ।
केन्द्रका प्रबन्ध निर्देशक झाले दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जानकारी दिँदै केन्द्रका कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिकसत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने बताए ।
गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ ।
छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए ।
उनले उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने बताए । ‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो। कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो । यस वर्ष छपाइमा कुनै समस्या छैन’, उनले भने ।
चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पु¥याउने केन्द्रको दाबी छ ।
केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउने क्रम जारी छ ।
लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक झाले भने, ‘यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका नौ शाखा कार्यालयमा पुस्तक पु¥याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ ।’
हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पु¥याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पु¥याउने उनको भनाइ छ । झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ ।
पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ ।
सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।