Nic Ad Nic Ad
Nic Ad Nic Ad

शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

आइतबार, चैत १२, २०७९

काठमाडौं –प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी,  अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । 

प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले  प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । एमालेकी विद्या भट्टराईले मुलुकमा  आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । 

उनले भनिन्, ‘ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश  जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती  विदेश जान बाध्य भएकाले  स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस बताएन् ।

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराएन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी  नापी सुरु गर्न, चर्काे रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए ।

राप्रपाकी मीना जैसवालले  वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताइन् भने नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले  एसइई परीक्षा अर्काे विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए ।

एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् ।

रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् बताए ।

नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र  लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे ।

रास्वपाका  सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए ।

कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले  वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए ।

रास्वपाकी सोविता  गौतमले काठमाडौँ क्षेत्र नं  ३ मा  जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् ।
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार