Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्णबहादुर र गगन : एकले अर्कालाई सरकारमा पठाउँन किन चाहन्छन् ?

आइतबार, चैत १२, २०७९

काठमाडौँ– नेपाली काँग्रेसका नेताहरुले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने बताए पनि स्वयम खड्काले भने सो विषयमा ‘निर्णय नभएको’ प्रतिक्रिया दिएका छन् ।

आज प्रतिनिधिसभाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने अझै तय नभएको बताए । र, उनले यो कुरा पनि सुनाए कि नेपाली काँग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने अझै टुंगो भएको छैन । 

‘कुन दलले कुन मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने निर्णय भइसकेको छैन । छलफलहरु भइरहेका छन् । कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन । केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्छाैं,’ नेता खड्काले भने ।

तर, काँग्रेस नेतहरु भने उपसभापति खड्काको नेतृत्वमा सरकारमा जाने विषय ‘ओपन सेक्रेट’ जस्तै रहेको बताउँछन् । पुस १० को एमाले–माओवादी गठबन्धन भत्काएर नेपाली काँग्रेसलाई राष्ट्रपति दिलाउने कार्यको सफल नेतृत्व गरेका भनिएका खड्काकै पहलमा काँग्रेस अबको ५ वर्ष संघ र सातै प्रदेशमा सत्तापक्ष बन्ने वातावरण पनि बनेको भनिन्छ ।

यद्यपि, नेपाली काँग्रेसले खड्काको नेतृत्वमा सरकारमा जाने भनेर निर्णय सार्वजनिक गरेको छैन । औपचारिक रुपमा निर्णय सार्वजनिक नभएकोले उपसभापति खड्काको भनाइलाई औपचारिक भनाइको रुपमा लिन भने सकिन्छ ।

‘खड्कालाई सरकारमा जानबाट रोक्न सक्ने भनेको उनले मात्रै हो । अहिले परिस्थिति यस्तो छ कि उनले सरकारमा जान्छु भनेको अवस्थामा कसैले रोक्दैन । र, सरकारमा पनि उनले चाहेको मन्त्रालय रोजेर लिन पाउँछन् । प्रचण्डले पनि उनले जुन मन्त्रालय माग्यो, त्यही दिन्छन्,’ खड्का निकट स्रोत भन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई एमालेसहितको गठबन्धनबाट काँग्रेस सहितको १० दलीय गठबन्धनमा ल्याउन खड्काले निकै ठूलो मेहेनत गरेका थिए । र, खड्काले अहिलेको सत्ता गठबन्धन बनाउन आफूले प्रयास गरेको भनेर जस लिन पनि खोजेका थिए ।

यो कुरा खड्का स्वयमले फागुन १५ मा ट्वीट गर्दै पुष्टी गरेका थिए ।

‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यहि दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको बिषय बनाएर मलाई अन्याय नगरि दिनुहोस, सबैमा अनुरोध,’ खड्काले ट्वीटरमा लेखेका थिए । 

मन्त्री बन्दिनँ भन्ने उनको पुरानै अडान जस्तो पनि देखिएको छ । किनभने फागुन १५ मा ट्वीट गर्दा पनि उनले सरकारमा जान चाहेको भनेर ‘आफूलाई अन्याय नगरिदिन’ अनुरोध नै गरेका थिए ।

खड्कापछि मन्त्री बन्दिनँ भन्ने लाइनमा आइपुगे पार्टी महामन्त्री गगन थापा । उनले पनि सार्वजनिक कार्यक्रमहरुबाटै आफू मन्त्री बन्ने दौडमा नभएको बताएका छन् । 

महामन्त्री खड्का पार्टी संसदीय दलको नेता बन्नको लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा देउवाले जिते, थापा पराजित भए । 

नेपाली काँग्रेस संसदीय दलको विधान अनुसार प्रधानमन्त्री बन्नको लागि संसदीय दलको नेता हुनुपर्छ । नेपाली काँग्रेस अहिलेको संसदको सबैभन्दा ठूलो दल पनि हो । महामन्त्री थापाले संसदीय दलको निर्वाचन जितेका भए उनी प्रधानमन्त्री बन्न सक्ने बाटो खुल्ला हन्थ्यो । अर्थात उनी प्रधानमन्त्री बन्नको लागि सभापति देउवासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धी बनेका थिए ।

थापाले अहिले मन्त्री बन्दिनँ भनिरहदा कतिपयले ‘प्रधानमन्त्री बन्छु भनेर हिडेको मान्छे अहिले मन्त्री पाए पनि हुन्थ्यो भनेर देउवासँग याचना गरिरहेको छ’ भनेर आलोचना नहोस भन्नका लागि गरेको ‘स्टन्ट’को रुपमा पनि व्याख्या गरेका छन् । थापाको सहयोगी टिमका केही व्यक्तिले पार्टीको नेतृत्व गरेर उपप्रधान तथा अर्थमन्त्री बन्न उनलाई दबाबमुलक सुझाव पनि दिइरहेका छन् । तर, मन्त्री बन्दिनँ भनेर सार्वजनिक रुपमा बोलिसकेका थापा भने यो पटक मन्त्री नबन्ने अडानमा कायमै देखिन्छन् ।

एक अर्कालाई पठाउन चाहन्छन् खड्का र थापा

सभापति देउवामा एक फरक प्रकारको राजनीतिक चाल रहेको देखिदैछ । कुुनै बेला उनको प्रखर विरोधी रामचन्द्र पौडेललाई देउवाले आफ्नो पक्षमा पार्न सफल भएका छन् भने उनलाई राष्ट्रपति पनि बनाएका छन् । आफूसँगै सभापति पदमा चुनावी प्रतिस्पर्धा गरेका कृष्ण सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता नेताहरुलाई देउवाले आफ्नो पक्षमा पारिसकेका छन् ।

देउवा निकट नेताहरुका अनुसार उनी अब कि आफ्नो खास मान्छे कि विरोधीलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउने रणनीतिमा छन् । देउवा आफ्नो खास मान्छेको रुपमा उपसभापति खड्कालाई र खास विरोधीको रुपमा थापालाई अघि सार्न रणनीतिमा रहेका छन् ।

‘सभापतिजी (देउवा)को पहिलो रोजाइ उपसभापति खड्का नै हुन्, उनी आफ्ना आलोचकबाट छान्ने रणनीतिमा लागे भने महामन्त्री थापा नै पहिलो नम्बरमा पर्छन्,’ देउवा निकट एक नेताले भने ।

तर, खड्का भने सकेसम्म आफू सरकारमा नगएर थापालाई सरकारमा पठाउने रणनीतिमा देखिएका छन् । थापालाई सरकारमा पठाएर आफू पार्टीमा सक्रिय हुने उनको योजना छ । 

‘अबको महाधिवेशनमा सकेसम्म सर्वस्वीकार्य हुने नभए पनि अत्याधिक मतको साथ सभापति हुने रणनीति खड्काको देखिन्छ । यसका लागि उनले महामन्त्री गगन थापाको पनि सहयोग अपेक्षा गरेका छन् । थापालाई अहिले सरकारमा पठाउँदा पार्टी एकलौटी ढंगले चलाउन पनि पाइने र थापाको साथ पनि हुने भएकोले खड्काको जोड थापालाई नै पठाउने भन्नेमा देखिन्छ,’ स्रोतले भन्यो ।

महामन्त्री थापा पनि सोही रणनीतिमा देखिएका छन् । उनले पनि खड्कालाई सरकारमा पठाउन पाएमा पार्टीमा आफूले एकलौटी ढंगले काम गर्न पाउने र सरकारले गरेका गलत कामको अपजस बोक्नु नपर्दा आगामी महाधिवेशनमा फाइदा हुने विश्लेषण थापाको छ ।

अहिले सरकारमा गएर खासै राम्रो काम गर्न नसकिने पनि देखिएकोले खड्का र थापा एकले अर्कालाई सरकारमा पठाएर पार्टीमा आफ्नो पकड बढाउने रणनीतिमा लागेका काँग्रेस नेताहरुको भनाई छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार